२०८२ माघ २२, बिहिवार

सिन्धुलीका अभिभावक एवं पूर्व राष्ट्रिय पञ्चायत सदस्य टीकाजंग थापाको निधन

1 day ago

माघ २०गते ✍️ होप अनलाईन मिडिया

सिन्धुलीको विकास र राजनीतिक इतिहासका एक सुदृढ खम्बा, वरिष्ठ राजनीतिज्ञ टीकाजंग थापाको ८६ वर्षको उमेरमा निधन भएको छ । नशासम्बन्धी समस्याबाट पीडित थापाको उपचारका क्रममा राजधानीको टिचिङ अस्पतालमा निधन भएको हो ।

विकासप्रेमी र दूरदर्शी नेता

स्वर्गीय थापाले सिन्धुली जिल्लाको समग्र विकासमा महत्वपूर्ण इँटा थप्नुभएको छ । उहाँको कार्यकाल र योगदानलाई निम्न बुँदामा स्मरण गर्न सकिन्छ:

जिल्लाको नेतृत्व: पञ्चायत कालमा दुई पटक जिल्ला पञ्चायत सभापति र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य भई जिल्लाको प्रतिनिधित्व गर्नुभएको थियो ।

मरिणको काँचुली: सिन्धुलीको विकट मरिण क्षेत्रमा सडक सञ्जाल विस्तार, हुलाक, बैंक र प्रहरी चौकी स्थापनामा उहाँको विशेष सक्रियता रहेको थियो ।

अन्तर्राष्ट्रिय छवि: उहाँले संयुक्त राष्ट्र संघमा नेपालको तर्फबाट टोली नेताको भूमिका निभाउनुका साथै विश्व सम्बन्ध परिषद्को अध्यक्ष जस्ता गरिमामय पदमा रहेर काम गर्नुभएको थियो ।

राज्यको सम्मान: समाजसेवा र राष्ट्रप्रतिको समर्पणका लागि उहाँ गोरखा दक्षिणबाहु र दैवी प्रकोप उद्धार पदक जस्ता मान-पदवीबाट विभूषित हुनुहुन्थ्यो ।

अन्तिम बिदाइ

स्वर्गीय थापाका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका माइला सुपुत्र एवं नेपाली कांग्रेस बागमती प्रदेश सदस्य असिमजंग थापाका अनुसार उहाँको पार्थिव शरीरलाई माघ २२ गते बिहीबार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिनेछ ।

उहाँको निधनले सिन्धुलीले एक कुशल अभिभावक र देशले अनुभवी राजनीतिज्ञ गुमाएको छ ।