२०८२ पुष ९, बुधवार

अमेरिकाले डिभी कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

5 days ago

 

पुस ४गते :होप अनलाईन मिडिया

अमेरिकी प्रशासनले डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार ‘युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस’ (USCIS) लाई डिभी कार्यक्रम तत्काल रोक्न निर्देशन दिइएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेकी हुन्।

ब्राउन विश्वविद्यालयमा हालै भएको गोलीकाण्डपछि डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका एक आप्रवासी संलग्न रहेको पुष्टि भएपछि सो कार्यक्रममाथि पुनर्विचार गरिएको अमेरिकी प्रशासनको भनाइ छ। घटनामा संलग्न व्यक्ति सन् २०१७ मा डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) लिइसकेको खुलेको छ।

सचिव नोयमले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार डिभी कार्यक्रमले थप क्षति नपुर्‍याओस् भन्ने उद्देश्यले अस्थायी रूपमा रोक्ने निर्णय गरिएको उल्लेख गरेकी छन्।

उनको निर्देशनपछि डिभी कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। अमेरिकाले हरेक वर्ष विश्वभरका विभिन्न मुलुकबाट करिब ५० हजार आप्रवासीलाई डिभी कार्यक्रममार्फत प्रवेश अनुमति दिँदै आएको छ।

यस वर्ष डिभी कार्यक्रम सुरु हुन ढिलाइ भइरहेको अवस्थामा अमेरिकी प्रशासनले औपचारिक रूपमा अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको हो।