२०८२ माघ २०, मंगलवार

उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन

2 weeks ago

 

माघ ५गते होप अनलाईन मिडिया ✍️ (नवराज प्रसाई )

उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा पर्ने मदन भण्डारी लोकमार्गमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालक र सह–चालक गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा साँझ करिब ४ बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका अस्पताल स्रोतले जनाएको छ।

प्रहरीका अनुसार मृतकहरूको सनाखत भइसकेको छ। ट्रक चालक सर्लाही जिल्ला परवानीपुर–४ स्थायी ठेगाना भई हाल बरहथ्वा नगरपालिका–२ मा बसोबास गर्दै आएका ४५ वर्षीय रणबहादुर माझी रहेका छन्। त्यस्तै, सह–चालक सिन्धुली जिल्ला मरिण गाउँपालिका–६ निवासी ४२ वर्षीय जयबहादुर माझी रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर तथा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले उद्धार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।