२०८२ फागुन ८, शुक्रवार

नेपाल इटालीसँग १० विकेटले पराजित

1 week ago

 

माघ २९गते ✍️ होप अनलाईन मिडिया

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। यो हार विश्वकप इतिहासमै नेपालको सबैभन्दा ठूलो अन्तरको हार बनेको छ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। इटालीका दाजुभाइ ब्याट्सम्यान एन्थोनी मोस्काले ६२ रन तथा जस्टिन मोस्काले ६० रनको अविजित योगदान दिए।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० तथा करण केसीले नटआउट १८ रन जोडे। इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए।

आजको खेलमा ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन्। उनी शेर मल्लको स्थानमा टोलीमा समावेश भएका हुन्।

यो प्रतियोगितामा नेपालको लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।

उता, पहिलो पटक विश्वकप खेलेको इटालीका लागि भने यो पहिलो जित हो। यसअघि इटाली स्कटल्यान्डसँग ७३ रनले हारेको थियो।

अंक तालिका अनुसार इटाली समूह ‘सी’ को तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल पुछारमा पुगेको छ। नेपाल अब समूह चरणबाट बाहिरिने जोखिममा छ।

अब नेपालले बाँकी खेलमा वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

अन्य खेलमा श्रीलङ्काले ओमानलाई १०५ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ। आज बेलुकी भारत र नामिबिया आमनेसामने हुँदैछन्।

प्रतियोगितामा २० टोली चार समूहमा विभाजन गरिएका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–८’ मा प्रवेश गर्नेछन्। सेमिफाइनल हुँदै फाइनल खेल मार्च ८ मा हुनेछ।