२०८२ फागुन ८, शुक्रवार

विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा बिहीबार एकैसाथ जनमत संग्रह र संसदीय निर्वाचन

1 week ago

माघ २९गते ✍️ होप अनलाइन मिडिया

 

विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा बिहीबार एकैसाथ जनमत संग्रह र संसदीय निर्वाचन आयोजना गरिएको छ। शासन प्रणाली सुधार गर्ने उद्देश्यले सरकारले अघि सारेको ‘जुलाई बडापत्र २०२५’ सम्बन्धी प्रस्तावलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने निर्णय जनताले प्रत्यक्ष मतदानमार्फत गर्नेछन्।

यसै दिन ६० वटा राजनीतिक दलहरूको सहभागितामा संसदीय चुनाव पनि भइरहेको छ। कुल ३५० सदस्यीय संसदका लागि ३०० स्थानमा प्रत्यक्ष निर्वाचन हुनेछ भने बाँकी ५० सिट महिलाका लागि आरक्षित गरिएको छ। ती आरक्षित सिटमा पार्टीहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा प्रतिनिधि चयन गरिने व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार करिब १२ करोड ७० लाख मतदाता मतदाता सूचीमा दर्ता भएका छन्। देशभर स्थापना गरिएका ४२ हजार ७ सय ७९ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।

स्थानीय समय अनुसार बिहान ७:३० बजेदेखि साँझ ४:३० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ। विदेशमा बसोबास गरिरहेका बंगलादेशी नागरिकहरूले यसपटक पहिलो पटक मतदानमा भाग लिन पाएका छन्। उनीहरूले ‘डिजिटल पोस्टल भोटिङ’ प्रणाली प्रयोग गरी मत हाल्नेछन्। आयोगका अनुसार १२२ देशमा रहेका ७ लाख ६१ हजार १ सय ४२ नागरिकले मतपत्र प्राप्त गरिसकेका छन्।