२०८२ फागुन ८, शुक्रवार

विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने

1 week ago

 

फागुन १गते ✍️ होप अनलाईन मिडिया

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यन्त संवेदनशील क्षेत्र मानिने  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, र्याली, भेला तथा हड्ताल नगर्न स्पष्ट निर्देशन दिएको छ । प्रशासनले यस्ता गतिविधि भए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार फागुन १ गते विमानस्थल र आसपास प्रदर्शन गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट सूचना सार्वजनिक भएको विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको हो । तर, स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम सञ्चालन गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि हालसम्म कसैले अनुमति नलिएको प्रशासनको भनाइ छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै हाल निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्ता कार्यक्रम गर्न बन्देज रहेको स्पष्ट पारेको छ । साथै, प्रदर्शनका क्रममा अवाञ्छित वा निर्वाचनविरोधी समूहको घुसपैठ हुन सक्ने जोखिमसमेत औंल्याइएको छ ।

आसन्न निर्वाचन, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान, र अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

विमानस्थल क्षेत्रमा अवरोध हुँदा यात्रुहरूको आवतजावत, सार्वजनिक सडकमा यातायात सञ्चालन तथा सर्वसाधारणको दैनिक जीवनमा समस्या उत्पन्न हुन सक्ने भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना नगर्न प्रशासनले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गर्न उक्साउने वा प्रचार गर्ने कार्यसमेत नगर्न सचेत गराइएको छ । निषेधित तथा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ