२०८१ असार १८, मंगलवार

सुनकोशि मरिण डाइ भर्सन को नब्बे प्रतिशत सुरूङ खन्ने काम सकियो ब्रेक थ्रु को तयारि

3 months ago

चैत १८गते :सुनकोशी–मरिण डाइभर्सन अन्तर्गतको सुरुङ निर्माणको काम एक महिनाभित्रै ’ब्रेक थ्रु’ हुने भएको छ । १३ दशमलव तीन किलोमिटरमध्ये हालसम्म १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार हालसम्म ९० प्रतिशतभन्दा बढी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । तीब्रगतिमा निर्माण भइरहेको सुरुङको उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार आयोजना स्थलमै पुगेर सुरुङ निर्माण कार्यको निरिक्षण गर्नुभएको छ ।

करिब ८०० मिटर मात्रै खन्न बाँकी रहेको सुरुङ्को अवलोकन गर्दै मन्त्री बस्नेलले तीब्रगतिमा सुरुङ्को निर्माण कार्य भइरहेकाले एक महिनाभित्र ब्रेक थ्रु हुने विश्वास व्यक्त गर्नुभयो ।

सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङ्ग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण गरिएको हो । कमलामाई नगरपालिका-२ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण भएपछि कानढुग्रीमा पुगेर सुनकोसी नदी भेट्न सकिन्छ ।

२२ महिनामा सुरुङ निर्माणको काम सम्पन्न गर्ने गरी टनेल बोरिङ मेसिनबाट निर्माण गर्न थालिएको सुरुङको भौगोलिक समस्या नआए लक्ष्य भन्दा ६ महिना अगाडीनै ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले दैनिक सरदर ३५ मिटर देखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरेहको छ ।

सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँबाट मरिण खोला हुँदै बागमतीमा पानी मिसाएर बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने यो आयोजनाको मुख्य लक्ष्य रहेको छ ।

यसका साथै कमलामाई नगरपालिका-२ कुसुमटारमा सुरुङ् हुँदै ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने अर्को लक्ष्य रहेको छ । सुरुङको ब्रेक थ्रु सँगै ब्यारेज निर्माण सहित अन्य कार्य समेत तीब्ररुपमा अगाडी बढेको आयोजना निर्देशक मित्र बरालको भनाई छ ।

४९ अर्ब ४२ करोड रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजना निर्माण पश्चात मुलुककै अर्थतन्त्र ठुलो टेवा पुग्ने स्थानियको भनाइ छ ।