२०८२ फागुन ८, शुक्रवार

हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक इन्टरपोलको सहयोगमा नेपाल ल्याइए

1 week ago

 

माघ २८गते ✍️ होप अनलाईन मिडिया

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ परेका उनलाई बुधबार नेपाल ल्याइएको काठमाडौँ प्रहरी स्रोतले जनाएको छ।

काभ्रे स्थायी घर भएका पाठकविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। उक्त नोटिसपछि उनी फिलिपिन्समा रहेको पत्ता लागेपछि त्यहीँबाट पक्राउ गरिएको एसएसपी रमेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश सार्वजनिक गर्दै अख्तियार प्रमुख राईसहित करिब १० जना व्यक्तिलाई धम्की दिएका थिए। धम्की दिँदै भारत र इन्डोनेसिया हुँदै उनी फिलिपिन्स पुगेको खुलेको छ।

आफूलाई उग्रवादी समूहको अध्यक्ष बताउँदै आएका पाठकलाई स्वदेश फर्काउन इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए।

पाठकले सार्वजनिक रूपमा लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई लक्षित गर्दै ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ।

यस घटनासँग सम्बन्ध रहेको आशंकामा यसअघि नै प्रकाश पाठकसँग ‘कनेक्सन’ देखिएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।