२०८२ फागुन ८, शुक्रवार

⸻ रामेछापमा बस दुर्घटनापछिको आन्दोलन चर्कियो, प्रशासन कार्यालय घेराउ

1 week ago

माघ २८गते ✍️ होप अनलाईन मिडिया

रामेछापमा यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सुरु गरेको आन्दोलन बुधबार थप चर्किएको छ। पीडित पक्षले दिनभर मुख्य सडक अवरुद्ध गरेपछि साँझपख जिल्ला प्रशासन कार्यालयको मूल गेट घेराउ गरी प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा नाराबाजी तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ। त्यसपछि प्रशासन कार्यालय आसपासको वातावरण तनावग्रस्त बनेको छ।

अवस्था नियन्त्रणमा राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उल्लेख्य संख्यामा परिचालन गरिएको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालयभित्र दिनभर सर्वदलीय बैठक बसे पनि पीडितका मागबारे सहमति जुट्न सकेन।

पीडित पक्षले अरनिको यातायात सेवा समितिका पदाधिकारी स्वयं वार्तामा उपस्थित हुनुपर्ने, मृतक प्रत्येक परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, मृतकका बालबालिकाको शिक्षा सुनिश्चित गर्नुपर्ने, घाइतेको सम्पूर्ण उपचार गरिनुपर्ने र दुर्घटनापछि बेपत्ता व्यक्तिहरूको खोजी तीव्र पार्नुपर्ने माग अघि सारेका छन्।

यद्यपि, बुधबार साँझसम्म पनि अरनिको यातायात सेवा समितिका केन्द्रीय पदाधिकारी रामेछाप नआएको जनाइएको छ। जिल्लास्थित काउन्टर प्रमुख शुवास फुँयाल भने वार्ता समितिमा सहभागी छन्। उनले कानुनअनुसार प्रति मृतक ५ लाख रुपैयाँ क्षतिपूर्ति र क्रियाखर्च स्वरूप प्रति व्यक्ति ३० हजार रुपैयाँ उपलब्ध गराइने बताएका छन्। तर पीडित परिवारले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

यसैबीच, दुर्घटनामा परी तीन जना बेपत्ता भएको भन्दै पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन्। प्रहरीका अनुसार खोजी कार्य जारी रहे पनि बुधबार साँझसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।

बेपत्ता हुनेहरूमा उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ रहेका छन्।