२०८३ जेठ ५, मंगलवार

पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना

1 hour ago

जेठ ५गते ✍️ होप अनलाईन मिडिया

 

नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। अन्य प्रदेशका पहाडी भू–भागमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै बागमती र गण्डकी प्रदेशका केही भू–भागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। देशका अन्य केही पहाडी क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने तापक्रम बढ्ने संकेत देखिएको छ। गर्मी बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली कायम रहने अनुमान गरिएको छ। ती क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।