२०८२ पुष ९, बुधवार

रवि लामिछाने र प्रधानमन्त्री विच भेट बार्ता

2 days ago

पुस ७गते ✍️ होप अनलाईन मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब नौ महिनापछि सक्रिय राजनीतिक भूमिकामा फर्किएसँगै सरकारसँग प्रत्यक्ष संवादमा जुटेका छन् । आइतबार साँझ उपसभापति तथा नेताहरूको टोलीसहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका उनले आगामी निर्वाचन तोकिएकै समयमा हुने सुनिश्चितता खोजेका हुन् ।

छलफलका क्रममा लामिछानेले निर्वाचन प्रक्रिया, सुरक्षा तयारी र सरकारको कार्ययोजनाबारे विस्तृत चासो व्यक्त गरे । उनले पार्टी चुनावी तयारीको अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै कुनै पनि बहानामा चुनाव पछि नधकेलिनुपर्ने स्पष्ट सन्देश दिएका थिए ।

प्रधानमन्त्री कार्कीले भने सरकारको प्राथमिकता समयमै निर्वाचन सम्पन्न गर्नु नै भएको बताइन् । अस्थिरता र हिंसाको पुनरावृत्ति हुन नदिन लोकतान्त्रिक प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको उनको भनाइ थियो ।

भेटमा जेन–जी आन्दोलनसँग सम्बन्धित विषय पनि उठाइएको थियो । आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था, सरकारसँग भएको सहमतिका बुँदाहरू कार्यान्वयनको प्रगति तथा युवा सहभागितासँग जोडिएका मुद्दामा छलफल भएको रास्वपा नेताहरूले बताएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले केही स्वार्थ समूहले चुनाव अवरुद्ध गर्न खोजे पनि सरकार त्यसप्रति सचेत रहेको बताए । यता, सञ्चारमन्त्रीले स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा तोकिएको मितिमै चुनाव गराउन सबै संयन्त्र परिचालन भइसकेको जानकारी दिएका छन् ।

सरकार र रास्वपाबीचको यो संवाद चुनावी वातावरणलाई थप स्पष्ट र भरोसायोग्य बनाउने दिशामा केन्द्रित देखिएको छ ।