२०८२ माघ २०, मंगलवार

सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय

5 days ago

माघ १५गते :✍️ होप अनलाईन मिडिया

सरकारले नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रहरीलाई दिइँदै आएको रासन स्केल तथा रासनबापतको दैनिक भत्ता बढाउने निर्णय गरेको हो।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णयले प्रहरी सेवामा संलग्न जनशक्तिको दैनिक जीवनयापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना सम्बन्धी सुझाव समिति–२०८२ द्वारा पेस गरिएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस निर्णयले पूँजी बजारको सुधार र पारदर्शिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

यस्तै नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापानमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई पनि सरकारले स्वीकृति दिएको छ। उक्त कार्यक्रम माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने जनाइएको छ।

सरकारका प्रवक्ता गृहमन्त्री अर्यालका अनुसार यी निर्णयहरू देशको प्रशासनिक, आर्थिक तथा कूटनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ गरिएको हो।