२०८२ फागुन ८, शुक्रवार

आज विश्व रेडियो दिवस : जनचेतना, संवाद र विविधताको सशक्त माध्यमका रूपमा रेडियो

1 week ago

 

फागुन १ गते ✍️ होप अनलाईन मिडिया

आज विश्वभर विश्व रेडियो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको युनेस्को को पहलमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन यो दिवस मनाउने परम्परा सुरु भएको हो।

सन् १९४६ मा राष्ट्रसंघीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको हो। युनेस्कोका अनुसार सञ्चारका माध्यममध्ये रेडियोको महत्त्वबारे जनचेतना बढाउनु, सबैका लागि सूचनामा पहुँच सुनिश्चित गर्नु, तथा विश्वभरका प्रसारक संस्थाबीच सहकार्य विस्तार गर्नु यस दिवसको मुख्य उद्देश्य हो।

रेडियोलाई मानव समाजको विविधतालाई सम्मान र उत्सवका रूपमा प्रस्तुत गर्ने प्रभावकारी माध्यम मानिन्छ। लोकतान्त्रिक अभ्यास र खुला संवादका लागि रेडियो सशक्त मञ्चको रूपमा स्थापित हुँदै आएको छ। अहिले पनि विश्वभर सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो अग्रस्थानमा रहेको छ।

रेडियोको विशेषता भनेको यसको व्यापक पहुँच हो। यसले समाजका हरेक वर्ग, समुदाय र क्षेत्रसम्म सूचना पुर्‍याउँदै सबै आवाजलाई बोल्ने, सुन्ने र प्रतिनिधित्व हुने अवसर प्रदान गर्दछ। यस अर्थमा रेडियो सार्वजनिक संवादको साझा चौतारी बनेको छ।

युनेस्कोले रेडियो स्टेशनहरूले विभिन्न समुदायको आवश्यकता समेट्ने कार्यक्रम निर्माण गर्नुपर्ने, विविध दृष्टिकोण प्रस्तुत गर्नुपर्ने र आफ्ना संरचना तथा सञ्चालन प्रक्रियामा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिएको छ।

कम खर्चमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम भेग र जोखिममा रहेका समुदायसम्म पुग्न उपयुक्त माध्यम मानिन्छ। शैक्षिक वा आर्थिक अवस्थाको भेदभाव नगरी सबैलाई समान रूपमा सार्वजनिक बहसमा सहभागी हुन रेडियोले अवसर दिन्छ। विशेषगरी विपद् व्यवस्थापन तथा आपत्कालीन सूचनाको प्रसारणमा यसको भूमिका महत्वपूर्ण रहँदै आएको छ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग का उपप्राध्यापक श्रीराम पौडेलका अनुसार समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवर्द्धन गर्न रेडियो अद्वितीय माध्यम हो। उहाँले श्रोताको आवश्यकता र चासोअनुसार सामग्री तयार गर्दा साझा समस्याको समाधान खोज्न आवश्यक बहस र विविध आवाज सुनिश्चित गर्न रेडियो प्रभावकारी हुने बताउनुभयो।