२०८२ फागुन २९, शुक्रवार

आज देशका धेरै स्थानमा बादल, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

3 days ago

 

फागुन २७गते ✍️ होप अनलाईन मिडिया
हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभावसँगै उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।

मौसमविद्हरूका अनुसार बुधबार बिहान देशका पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्यदेखि मध्यम बादल लागेको अवस्था छ। तराई क्षेत्र र उपत्यकाका केही स्थानहरूमा भने तुवाँलो देखिएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानसहित अन्य पहाडी भूभागमा पनि सामान्यतया बादल लाग्ने सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। यसैबीच तराई र उपत्यकाका केही स्थानमा तुवाँलो कायम रहने सम्भावना छ।

मौसम पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै बुधबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।