२०८२ फागुन ८, शुक्रवार

सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर

1 week ago

 

माघ २९गते ✍️ होप अनलाईन मिडिया

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। सिसिटिभी प्रणाली नै बन्द गरेर स्वीकृत अर्डरभन्दा बढी डिजेल निकासी गरिएको प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले दासलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय तोकेको छ। यसै मुद्दामा इन्धन ट्यांकर चालक निर्मल र पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि समान सजाय सुनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ जेठमा चार लाख ४८ हजार ५२५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। अदालतले तीन व्यक्ति र एक कम्पनीलाई दोषी ठहर गर्दै दामासाही आधारमा जरिवाना निर्धारण गरेको हो।

यो घटना करिब साढे दुई वर्षअघिको हो। पश्चिमाञ्चल ट्रेडर्सले १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गराएको अवस्थामा २५ साउन ०८० को इन्भोइसअनुसार ‘ग.२ ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो। तर, मिलेमतोमा १५ हजार ३८ लिटर डिजेल लोड गरिएको भेटिएको थियो।

लोड गरिएको ट्यांकर डिपोबाट बाहिरिँदै गर्दा पोखरा महानगरपालिका–२७ डाँडाको नाकामा प्रहरीले नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा बिलमा उल्लेख गरिएको भन्दा ३ हजार ३८ लिटर बढी डिजेल भेटिएपछि अनुसन्धान सुरु भएको थियो। सो दिन प्रतिलिटर डिजेलको मूल्य १४७.६३ रुपैयाँ रहेको आधारमा अतिरिक्त डिजेलको मूल्य चार लाख ४८ हजार ५२५ रुपैयाँ हुन आएको थियो।

डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटलाई पनि प्रतिवादी बनाइएको थियो। तर, अदालतले उनीहरूलाई सफाइ दिएको छ।

प्रारम्भिक रूपमा प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो भने सरकारी कर्मचारी संलग्नता देखिएपछि अख्तियारलाई पत्राचार गरिएको थियो। सोही आधारमा दायर मुद्दामा विशेष अदालतले अन्ततः दोषी ठहर गरेको हो।

#नेपाल अायल निगम #