२०८२ फागुन १७, आइतवार

निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

7 hours ago

 

फागुन १७गते ✍️ होप अनलाईन मिडिया

आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आज राति १२ बजेदेखि सीमा नाका बन्द गरिने भएको छ।

निर्वाचन सुरक्षासम्बन्धी निर्देशिकाअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगावै सीमा नाका बन्द गर्नुपर्ने व्यवस्था रहेको छ। सोही प्रावधानका आधारमा निर्वाचन आयोगले नेपाल सरकारलाई सीमा नाका अस्थायी रूपमा बन्द गर्न सिफारिस गरेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे ले आयोगको निर्णयअनुसार आज मध्यरातदेखि मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन तयार पारिएको सुरक्षा निर्देशिकाबमोजिम सम्बन्धित निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ। सीमा नाका बन्दसम्बन्धी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुरक्षा निकाय र प्रशासनलाई समेत सचेत गराइएको आयोगले जनाएको छ।

निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्न विभिन्न सुरक्षा उपायहरू अवलम्बन गरिने पनि आयोगले स्पष्ट पारेको छ।