तारकेश्वरमा पार्किङ गरिएको विद्युतीय कारभित्र महिलाको शव फेला, अनुसन्धान जारी

10 hours ago

साउन ९गते ✍️ होप अनलाईन मिडिया

काठमाडौंको तारकेश्वर नगरपालिका–१, कालेबासे क्षेत्रमा पार्किङ अवस्थामा रहेको एक विद्युतीय सवारीसाधनभित्र एक महिलाको जलेको शव फेला परेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

मृतकको पहिचान तारकेश्वर–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजालका रूपमा भएको प्रहरीले जनाएको छ। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ पदमा कार्यरत थिइन्।

पारिवारिक जानकारीअनुसार रिजाल साउन ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कमा आएकी थिइनन्। त्यसपछि खोजीका क्रममा शनिबार दिउँसो करिब १ बजे BAE 0410 नम्बरको विद्युतीय कारभित्र उनको शव फेला परेको हो। शव कारको पछाडिको सिटमा जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दै प्रमाण संकलन सुरु गरेको छ।

शवको प्रकृति र घटनास्थितिलाई आधार बनाएर मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

प्रहरीले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अनुसन्धानबाट खुल्ने जनाएको छ।