कार्तिक ४, २०८३

ड्युटीमा रहेका प्रहरीमाथि हातपात र अभद्र व्यवहार गर्ने एक जना पक्राउ

2 months ago

 

भदौ १० गते ✍️ होप अनलाईन मिडिया

काठमाडौँको बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायत रहेका छन्।

प्रहरी परिसर काठमाडौँका अनुसार भदौ ९ गते बिहान करिब ९:३० बजे बानेश्वरबाट थापागाउँ जाने सडक खण्डस्थित आकाशे पुलमुनि ‘पिक आवर’को ड्युटीमा खटिएका प्रहरीले पैदलयात्रीलाई आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गरेका थिए। तर, सो आग्रहलाई बेवास्ता गर्दै उल्टै खटिएका प्रहरीमाथि गालीगलौज तथा हातपात गरेपछि कठायतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीमाथि ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ तथा ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।