कार्तिक ४, २०८३

त्रिशूली नदीमा बाढीको जोखिम बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह क्षति वितरण आउन बाकि

2 months ago

 

भदौ १० गते ✍️ होप अनलाईन मिडिया

तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले बुधबार बिहान १०ः१८ बजे अत्यावश्यक सूचना जारी गर्दै नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदीको बहावबाट प्रभावित हुन सक्ने जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

रसुवाको भोटेकोशीमा असामान्य रूपमा ठूलो बाढी आएको र त्यसको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा देखिन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन भनिएको प्रहरीले जनाएको छ। भोटेकोशीको पानी त्रिशूली नदीमा मिसिने भएकाले नदीको तल्लो भागमा रहेका बस्ती तथा संरचनामा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीले नदी किनार, बगर, खोँच तथा होचा भूभागमा रहेका नागरिकलाई सम्भव भएसम्म तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरेको छ। बाढीको अवस्था सामान्य भएको आधिकारिक सूचना नआएसम्म जोखिमयुक्त क्षेत्रमा नफर्कनसमेत अनुरोध गरिएको छ।

विशेषगरी नुवाकोट र धादिङका त्रिशूली नदी आसपासका बस्तीमा तत्काल सावधानी आवश्यक रहेको प्रहरीले जनाएको छ। बाढीको बहाव थप बढेमा चितवन र गोरखातर्फका त्रिशूली तथा नारायणी नदी आसपासका क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन भनिएको छ।

नदीको बहाव हेर्न पुल, नदी किनार वा बगरमा नजान, माछा मार्ने तथा दाउरा संकलन नगर्न र पशुचौपाया चराउन नदी आसपास नलैजान प्रहरीले आग्रह गरेको छ। नदी तर्ने प्रयास नगर्न तथा सडक र पुल प्रयोग गर्दा सुरक्षाकर्मी एवं स्थानीय प्रशासनको निर्देशन पालना गर्नसमेत भनिएको छ।

बाढीका कारण नदी आसपासका सडक, पुल, जलविद्युत् आयोजना र तटीय बस्तीमा असर पर्न सक्ने सम्भावना रहेको छ। यद्यपि बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने तत्काल सार्वजनिक भइसकेको छैन।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायलाई आवश्यक क्षेत्रमा परिचालन गरिएको जनाइएको छ। स्थानीय प्रशासन तथा स्थानीय तहहरूले पनि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सूचना प्रवाह गर्ने तयारी गरिरहेका छन्।

बाढीको कारणबारे विभिन्न अनुमान भइरहे पनि यसको वास्तविक कारण अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन। हिमताल वा हिमनदीमा जम्मा भएको पानी अचानक बाहिरिनु, पहिरोका कारण नदी थुनिएर पछि खुल्नु लगायतका कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, पुराना तस्बिर तथा भिडियोका कारण अनावश्यक त्रासमा नपर्न आग्रह गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने सूचनालाई आधार मान्न र आपत्कालीन अवस्था सिर्जना भए तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय प्रशासन वा स्थानीय तहसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।