कार्तिक ४, २०८३

बाढीपछि भेटिएको सुनचाँदी आफूसँग राखेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ

1 month ago

 

भदौ २७गते शनिबार ✍️ होप अनलाईन मिडिया

बाढीका कारण बगेर आएको सुनचाँदीका गरगहना फेला पारेपछि प्रहरीलाई जानकारी नदिई आफूसँग राखेको आरोपमा धादिङमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–६, बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङ छन्।

प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा आदमघाटस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार उनले भदौ ११ गते बाढीपछि सुनका गरगहना फेला पारेका थिए।

फेला परेको सामानबारे सम्बन्धित व्यक्ति वा प्रहरीलाई जानकारी नदिई आफूसँग राखेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङको साथबाट प्रहरीले सुनका बाला तीन टुक्रा, झुम्का दुई थान, सिक्री दुई थान, औँठी दुई थान र मंगलसूत्र दुई थान बरामद गरेको छ। साथै चाँदीका पाउजु दुई जोर पनि बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय गजुरीले चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ। बरामद गरगहनाको वास्तविक धनी तथा बाढीका कारण ती सामग्री कसरी बगेर आएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।