कार्तिक ४, २०८३

हेटौँडामा मोटरसाइकल र ट्यांकर ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर

3 weeks ago

असोज १०गते ✍️ होप अनलाईन मिडिया

 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित नारायणी महल आसपास पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्यांकर आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब २ः२० बजे कर्राबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार सो मोटरसाइकलले अगाडि गुडिरहेको अर्को मोटरसाइकललाई उछिनेर अघि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ५२३२ नम्बरको खाली ट्यांकरसँग ठक्कर खाएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–११ नवलपुरका करिब २५–३० वर्षीय रोहित बिडारी र पछाडि सवार सोही क्षेत्रको शान्तिचोकका २३ वर्षीय कबिन सरकार घाइते भएका छन्। प्रहरीका अनुसार कबिनको अवस्था गम्भीर छ भने रोहितको अवस्था मध्यम रहेको छ।

दुवै घाइतेलाई प्रहरी तथा ट्राफिक टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको जनाएको छ।

दुर्घटनापछि ट्यांकर चालक पर्साको जगरनाथपुर गाउँपालिका–४ का करिब २३ वर्षीय विशाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।