कार्तिक ४, २०८३

मरिण मा पहिलो चोटि कविता लेखन कार्यशाला तथा साहित्यिक रचना वाचन हुँदै

2 weeks ago

असोज १९ गते ✍️ होप अनलाईन मिडिया 

 

सिन्धुलीको मरिण गाउँपालिकामा साहित्य सिर्जना र लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले कविता लेखन कार्यशाला तथा साहित्यिक रचना वाचन कार्यक्रम आयोजना हुने भएको छ।

मरिण साहित्य समाजको आयोजनामा असोज २६ गते सोमबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रम मरिण गाउँपालिकाको प्रवर्द्धनमा आयोजना हुन लागेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। कार्यशालामा कविता लेखनका विभिन्न पक्षबारे छलफल तथा अभ्यास गराइनुका साथै सहभागी साहित्यकारहरूले आफ्ना कविता, गजल र मुक्तक प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रममा साहित्यकारहरू अभय श्रेष्ठ, स्वप्निल स्मृति, गणेश श्रमण, डी.बी. बर्तौला, किशन पौडेल, अमला अधिकारी, लोकेन्द्र डहरे, अमृत भिमानेली, खडानन्द तिमल्सिना, ध्रुवचन्द्र खड्का र मैया लमिछाने लगायतको सहभागिता रहनेछ।

मरिण क्षेत्रमा साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउने, नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ आकर्षित गर्ने तथा स्थानीय र बाह्य साहित्यकारबीच रचना र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मरिण साहित्य समाजले जनाएको छ।

कार्यक्रममा कवि, लेखक, साहित्यप्रेमी तथा सिर्जनामा रुचि राख्ने सर्वसाधारणलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।