कार्तिक १६, २०८३

पश्चिम नेपालमा न्यून चापीय क्षेत्रको प्रभाव घट्दै, मौसममा क्रमिक सुधार हुने

7 hours ago

 

कात्तिक १५गते  होप अनलाईन मिडिया

अर्नब चक्रवातको अवशेषका कारण पश्चिम नेपाल आसपास विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले अब देशभरको मौसममा क्रमशः सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका छिटपुट स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

यसैबीच, तराईका जिल्ला, उपत्यका तथा खोँच क्षेत्रमा बिहानको समयमा केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।