अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता

1 day ago

साउन ४गते ✍️ होप अनलाईन मिडिया

 

फिफा विश्वकप २०२६ को उपाधि स्पेनले आफ्नो नाममा लेखाएको छ। फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले हराउँदै स्पेन विश्व फुटबलको नयाँ च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनका फेरेन टोरेसले १०६औँ मिनेटमा गरेको गोल नै उपाधि जिताउने निर्णायक गोल बन्यो।

फाइनलभर स्पेनले आक्रामक खेल प्रस्तुत गरेको थियो। गोलतर्फ स्पेनले २० पटक प्रहार गर्दा अर्जेन्टिनाले केवल ३ पटक मात्र अवसर सिर्जना गर्न सक्यो। खेलको अधिकांश समय स्पेनले बल नियन्त्रण र आक्रमणमा पकड जमाएको देखियो।

यससँगै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ। यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलो पटक विश्वकप जितेको थियो।

प्रतियोगिताका व्यक्तिगत अवार्डतर्फ फ्रान्सका केलियन एम्बाप्पे १० गोलसहित सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटका विजेता बने। स्पेनका कप्तान रोड्रिगो हेर्नान्डेज (रोद्री) उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्डबाट सम्मानित भए।

त्यस्तै, स्पेनका गोलरक्षक उनाई सिमोनले उत्कृष्ट गोलकिपरको रूपमा गोल्डेन ग्लोभ्स अवार्ड जिते भने युवा डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए।

विश्वकप २०२६ मा उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै स्पेनले फेरि एकपटक विश्व फुटबलमा आफ्नो प्रभुत्व स्थापित गरेको छ।