मंसिर १४, २०८३

कांग्रेसको नाम र रुख चिह्नमा विवाद चर्कियो, अनधिकृत प्रयोग गर्नेलाई कानुनी घेरामा ल्याइने

21 minutes ago

 

मंसिर १३गते  ✍️ होप अनलाईन मिडिया 

नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्नको अनधिकृत प्रयोग रोक्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै पार्टीका आधिकारिक प्रतीक तथा पहिचान प्रयोग गरेर भ्रम फैलाउने व्यक्ति र समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभएको हो।

पार्टीको नाम र चुनाव चिह्न ‘रुख’ सहित झण्डा, छाप, ब्यानर तथा आधिकारिक कागजातको अनुमति बिना प्रयोग गर्ने कार्यलाई गम्भीर रूपमा लिइएको उहाँले स्पष्ट पार्नुभयो।

महामन्त्री पौडेलले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट पार्टीका आधिकारिक सामग्री प्रयोग भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिले पार्टीभित्र अन्योल सिर्जना गरेको उल्लेख गर्नुभयो। महाधिवेशनको नाममा भइरहेका गतिविधिका कारण नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा भ्रम उत्पन्न भएको उहाँको भनाइ थियो।

उहाँले गगनकुमार थापाको नेतृत्वमा रहेको २३१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई नै पार्टीको वैधानिक नेतृत्वका रूपमा प्रस्तुत गर्दै अन्य गतिविधिलाई आधिकारिक नठान्न आग्रह गर्नुभयो।

यस विषयमा निर्वाचन आयोगसहित सम्बन्धित सरकारी निकायलाई समेत पार्टीको आधिकारिक पहिचान र चुनाव चिह्नको संरक्षणका लागि आवश्यक कदम चाल्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो।

कांग्रेसले आफ्नो नाम, झण्डा, चुनाव चिह्न, लेटरप्याड वा अन्य आधिकारिक सामग्री प्रयोग गरेर पार्टीकै कार्यक्रम भएको भनी प्रचार गर्ने कार्य नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ। निर्णयको अवज्ञा गर्दै यस्ता गतिविधि जारी राखे पार्टीको विधान र प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने जनाइएको छ।

यसैबीच, कांग्रेस केन्द्रीय समितिले पार्टीका सार्वजनिक कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन तयार गरिएको ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित गरेको छ।

कार्यक्रममा अनावश्यक रूपमा लामो समय खर्च हुने, धेरै जनालाई आसन ग्रहण गराउने र वक्ताहरूको संख्या बढ्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले नयाँ कार्यविधि ल्याइएको महामन्त्री पौडेलले बताउनुभयो।