मंसिर १०, २०८३

एलपी ग्यासको आपूर्ति बढाउन उद्योगलाई आयल निगमको निर्देशन, अनावश्यक सञ्चिति नगर्न उपभोक्तालाई आग्रह

5 hours ago

 

मङ्सिर ९ गते ✍️ होप अनलाईन मिडिया 

 

देशभर खाना पकाउने एलपी ग्यासको उपलब्धता सहज बनाउन नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै काम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले जारी गरेको परिपत्रमार्फत बजारको मागअनुसार ग्यास आयात बढाउन र उद्योगमा रहेका भण्डारण संरचनाको पूर्ण उपयोग गर्दै पर्याप्त मौज्दात कायम राख्न आग्रह गरेको हो।

निगमले भन्सार नाकामा रोकिएका ग्यास बोकेका बुलेटहरूलाई शीघ्र प्रक्रिया पूरा गरी बजारमा पठाउन पनि उद्योगहरूलाई निर्देशन दिएको छ। त्यस्तै, बजारमा रहेका तथा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्ने सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर नियमित आपूर्ति व्यवस्था मिलाउन भनिएको छ।

ग्यासको आयात, भण्डारण र वितरण प्रणालीबीच उचित तालमेल कायम गर्न सके बजारमा आपूर्ति अवरुद्ध हुने अवस्था रोक्न सकिने निगमको अपेक्षा छ।

यससँगै निगमले सर्वसाधारणलाई पनि आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न र घरमा अनावश्यक रूपमा सिलिन्डर थुपारेर नराख्न आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यास सञ्चिति गर्ने वा बजारमा असहज अवस्था निम्त्याउने गतिविधि नगर्नसमेत उपभोक्तालाई सचेत गराइएको छ।

नियमित आपूर्ति कायम राख्न सरकारी निकाय, ग्यास उद्योग, बिक्रेता र उपभोक्ता सबैको जिम्मेवार भूमिका आवश्यक रहेको निगमको सन्देश छ।