बैशाख १५गते :
काठमाडौँमा महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको उक्त समूहलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी गाउँपालिका निवासी २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।
प्रहरीका अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न क्षेत्रमा भएका सुन लुटपाट घटनाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको हो।
उनीहरूबाट करिब १२.९० ग्राम सुन, एक थान पेचकस, एउटा ठूलो रेन्च, आठ वटा साना रेन्च, एक मोबाइल फोन, एक खुकुरी तथा लुटपाटमा प्रयोग गरिएका कपडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त थानकोटमार्फत थप अनुसन्धान भइरहेको छ।

Leave a Reply