कार्तिक ४, २०८३

नुवाकोटमा बस दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

2 months ago

 

✍️ होप अनलाईन मिडिया ,साउन ३०गते

नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउमा पार्किङ गरी राखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय माइक्रो भ्यानमा ठोक्किएको थियो।

बसको ठक्करपछि दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा घाइते पाँच जनालाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको ग्रिनसिटी अस्पताल ल्याइएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ तथा दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।