कार्तिक ४, २०८३

सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति

2 months ago

 

भदाै ६ गते ✍️ होप अनलाईन मिडिया

सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले सञ्चालन गर्दै आएको धर्ना तथा आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा प्रवेश गरेर ललितपुरको पुल्चोकमा धर्ना दिइरहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलपछि सहमतिमा हस्ताक्षर भएको हो।

सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। यता, महाअभियानले पनि सहमतिपछि आफ्ना आन्दोलन तथा धर्नाका कार्यक्रम अन्त्य गर्ने जनाएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकका विभिन्न माग र मुद्दा उठाउँदै लामो समयदेखि आन्दोलन गर्दै आएको महाअभियानका कार्यकर्ता पछिल्लो समय काठमाडौं उपत्यकामा केन्द्रित भएका थिए।

सरकार र महाअभियानबीच भएको १४ बुँदे सहमतिपछि पुल्चोकमा जारी धर्नासहित आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएका छन्।