मंसिर ९, २०८३

श्रीमती को शंकास्पद मृत्यु प्रकरण: घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

4 hours ago

 

मङ्सिर ८गते ✍️ होप अनलाईन मिडिया 

मोरङको केराबारी गाउँपालिका– ७ मा करिब एक महिनाअघि भएको एक महिलाको मृत्यु प्रकरणमा प्रहरीले उनकै श्रीमान्लाई पक्राउ गरेको छ। शान्तिमार्ग टोल (दाहालचोकनजिक) बस्ने ५० वर्षीय उत्तमकुमार लिम्बूलाई ४८ वर्षीया श्रीमती सञ्चमाया राई लिम्बूको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

गत कात्तिक ८ गते राति करिब ११:४५ बजेतिर सञ्चमायाको मृत्यु भएको भन्दै उत्तमकुमारले परिवारजन तथा स्थानीयवासीलाई जानकारी गराएका थिए। प्रारम्भिक रूपमा मृत्युलाई सामान्य मानिएपछि परम्परागत संस्कारअनुसार अन्त्येष्टि समेत सम्पन्न गरिएको थियो।

अन्त्येष्टिपछि पनि माइती पक्षले मृत्युको कारणप्रति शंका जनाउँदै प्रहरीमा उजुरी दिएपछि घटनाको वास्तविकता बाहिर ल्याउन शव उत्खनन वा कानुनी प्रक्रियामार्फत पोस्टमार्टम गरिएको थियो। प्राप्त पोस्टमार्टम प्रतिवेदनमा घाँटी थिचिएका कारण मृत्यु भएको हुन सक्ने संकेत देखिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान तीव्र पारेको थियो।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उत्तमकुमारले मादक पदार्थ सेवन गरी आपसी भनाभन हुँदा श्रीमतीलाई धकेलेको र सोही क्रममा ज्यान गएको दाबी गरेका छन्। यद्यपि, उनको भनाइ चिकित्सा परीक्षणको निष्कर्ष तथा घटनास्थलबाट जुटाइएका अन्य भौतिक प्रमाणहरूसँग बाझिएको प्रहरीले बताएको छ।

मृतकका माइती पक्षले उत्तमकुमारविरुद्ध किटानी जाहेरी दर्ता गराएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले घटना भएको २४ औँ दिनमा अर्थात् मंसिर १ गते उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।