२०८३ असार ३, बुधवार

सर्लाहीमा बँदेलको आक्रमणबाट युवकको मृत्यु,

2 months ago

बैशाख १४गते :

सर्लाहीमा एक युवकको जंगली बँदेलको आक्रमणबाट दुःखद निधन भएको छ। लालबन्दी नगरपालिका–१५, परवानीपुर, पिडखोल्सी निवासी ३२ वर्षीय प्रेम बहादुर थिङ (दावा) को ज्यान गएको हो।

घटना आइतबार साँझ ५ बजेको हो। प्रेम बहादुर थिङले आफ्नो मकै बाली नष्ट गरिरहेको जंगली बँदेललाई देखेपछि त्यसलाई धपाउने प्रयास गरेका थिए। बँदेललाई पछ्याउँदै जाने क्रममा पिडखोल्सी भन्ने स्थानमा बँदेलले उनीमाथि नै आक्रमण गरेको थियो।

बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थिङलाई उपचारका लागि लालबन्दी लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। उनी स्थानीय तुल बहादुर थिङका छोरा हुन्।

प्रहरीका अनुसार, शवलाई पोस्टमार्टमका लागि सोही रात सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

पछिल्लो समय यस क्षेत्रमा जंगली जनावरहरूको आक्रमण बढेको छ। यो घटनापछि स्थानीय बासिन्दाहरूमा त्रास र असुरक्षाको भावना फैलिएको छ। उनीहरूले प्रशासनसँग सुरक्षा र बालीनालीको संरक्षणको माग गरेका छन्।