सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा

14 hours ago

 

साउन ८गते ✍️ होप अनलाईन मिडिया 

नेपाल आयल निगमबाट आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ खरिद गर्ने पेट्रोलपम्पहरूको विवरण सार्वजनिक भएको छ। सार्वजनिक तथ्यांकअनुसार धादिङको नीलकण्ठ नगरपालिका स्थित भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष पनि देशकै सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प बनेको छ।

उक्त पेट्रोलपम्पले गत आर्थिक वर्षमा करिब १ अर्ब ९९ करोड ११ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको पेट्रोल र डिजेल नेपाल आयल निगमबाट खरिद गरेको जनाएको छ। निगमबाट खरिद गरिएको इन्धनमा ढुवानी खर्च तथा विक्रेताको नाफा जोडिएपछि वास्तविक कारोबार रकम अझ बढी हुने बताइएको छ।

सूचीको दोस्रो स्थानमा काठमाडौंको सामाखुसीस्थित प्रहरी कल्याण कोष पेट्रोलपम्प रहेको छ। यसले करिब १ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ बराबरको इन्धन खरिद गरेको छ।

तेस्रो स्थानमा चितवनको नारायणगढस्थित कैलाश आयल डिस्ट्रिब्युटर्स परेको छ। उक्त पम्पले करिब १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ बराबरको इन्धन खरिद गरेको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, चौथो स्थानमा काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मीद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसन रहेको छ। यसले करिब १ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ बराबरको इन्धन खरिद गरेको छ।

पाँचौँ स्थानमा ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी पेट्रोलपम्प रहेको छ, जसको खरिद मूल्य १ अर्ब ४१ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ।

छैटौँ स्थानमा रुपन्देही (बुटवल) को मिलन ब्रदर्स सप्लायर्स परेको छ। यसले गत आर्थिक वर्षमा करिब १ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बराबरको इन्धन खरिद गरेको छ।

शीर्ष १० सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प

१. भैरवी इन्टरप्राइजेज, धादिङ — रु. १ अर्ब ९९ करोड ११ लाख
२. प्रहरी कल्याण कोष पेट्रोलपम्प, सामाखुसी — रु. १ अर्ब ८५ करोड ५३ लाख
३. कैलाश आयल डिस्ट्रिब्युटर्स, नारायणगढ — रु. १ अर्ब ६७ करोड ९१ लाख
४. रिपुमर्दिनी पेट्रोल स्टेसन, भद्रकाली — रु. १ अर्ब ६७ करोड ३६ लाख
५. साझा सेवा सहकारी पेट्रोलपम्प, पुल्चोक — रु. १ अर्ब ४१ करोड ५० लाख
६. मिलन ब्रदर्स सप्लायर्स, बुटवल — रु. १ अर्ब ३४ करोड ९३ लाख
७. प्रहरी कल्याण कोष पेट्रोलपम्प, नक्साल — रु. १ अर्ब ३३ करोड ८९ लाख
८. भक्तपुर फ्युल सेन्टर, भक्तपुर — रु. १ अर्ब १८ करोड ७६ लाख
९. सत्यनारायण प्रालि, बालाजु — रु. १ अर्ब १७ करोड ९४ लाख
१०. बागमती आयल सप्लायर्स — रु. १ अर्ब १७ करोड ७ लाख

एक अर्बभन्दा बढी कारोबार गर्ने पम्प १६ वटा

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार हाल नेपालभर करिब १,५३० पेट्रोलपम्प सञ्चालनमा छन्। तीमध्ये गत आर्थिक वर्षमा १६ वटा पेट्रोलपम्पले एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको इन्धन कारोबार गरेका छन्।

शीर्ष १० बाहेक चितवनको साझा पेट्रोलपम्प (बाइपास रोड), नुवाकोटको भैरवी आयल स्टोर, बाराको प्रहरी कल्याण केन्द्र पम्प (पथलैया), आकाश पेट्रोलियम प्रालि (अमलेखगन्ज), ललितपुरको शक्तिदेवी पेट्रोल स्टेसन (लगनखेल) तथा काठमाडौंको हिमाल इन्टरप्राइजेज (महादेवस्थान) ले पनि एक अर्ब रुपैयाँभन्दा बढीको इन्धन खरिद गरी उच्च कारोबार गर्ने पेट्रोलपम्पको सूचीमा स्थान बनाएका छन्।