मंसिर १४, २०८३

नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने, मङ्सिर १३ देखि पहिरो नियन्त्रणको काम

24 hours ago

मङ्सिर १२गते ✍️ होप अनलाईन मिडिया 

 

नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा सडक सुरक्षाको काम सुरु गरिने भएपछि दैनिक पाँच घण्टा यातायात आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन रोकिनेछ। निर्माण तथा पहिरो नियन्त्रणका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।

तुइनखोला क्षेत्रमा लामो समयदेखि पहिरो खस्ने समस्या कायम रहेपछि यसको दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्राविधिक विधिबाट काम अघि बढाउन लागेको जनाएको छ। वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेपछि नियन्त्रणको योजना बनाइएको हो।

पहिरो प्रभावित भिरको जोखिम कम गर्न ठूला ढुङ्गा हटाउने, भिरको भौगोलिक बनावटअनुसार स्लोप व्यवस्थापन गर्ने तथा जमिनलाई मजबुत बनाउन ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। यसका अतिरिक्त भिरभित्र जमेको पानी बाहिर निकाल्न तेर्सो निकास प्रणाली (होरिजोन्टल ड्रेन) र वातावरणमैत्री जैविक प्रविधि (बायोइन्जिनियरिङ) समेत अपनाइनेछ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो नियन्त्रणका लागि मुख्य रूपमा नेलिङ प्रविधिलाई प्राथमिकता दिइनेछ। भिरको अवस्थाअनुसार दुई तथा तीन आयामिक संरचनामा जैविक प्रविधिको प्रयोगसमेत गरिनेछ।

गत असोजदेखि स्थगित रहेको पहिरो नियन्त्रणको काम पुनः सञ्चालन गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यहाँको कामलाई प्राथमिकता दिइएको थियो। उक्त क्षेत्रमा सडक सञ्चालन सहज भएपछि तुइनखोलाको काम अघि बढाउन लागिएको कार्यालयले जनाएको छ।

प्राविधिक आकलनअनुसार तुइनखोलामा प्रभावकारी रूपमा काम सम्पन्न गर्न कम्तीमा १५ दिनसम्म सडक बन्द गर्नुपर्ने अवस्था देखिएको छ। यद्यपि, अन्तिम समयावधि भने स्थलगत प्राविधिक मूल्याङ्कनपछि निर्धारण गरिने जनाइएको छ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिकै रहेको घोप्टेभीरको काम भोलिसम्म सम्पन्न गर्ने र त्यसपछि पर्सिदेखि उक्त सडक सञ्चालनमा ल्याउने तयारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रशासनका अनुसार काठमाडौँबाट मुग्लिङ हुँदै आँबुखैरेनीमार्फत पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित रूपमा सञ्चालनमा रहनेछ। नारायणगढ–मुग्लिङ सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा योजना बनाउन प्रशासनले आग्रह गरेको छ।