कार्तिक ४, २०८३

राजधानीमा रात्रिकालिन बस अव राति को १२ बजे सम्म चल्ने

4 weeks ago

 

असोज ४ गते ✍️ होप अनलाईन मिडिया

संविधान दिवसको अवसर पारेर काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक बससेवा विस्तार गरिएको छ। साझा यातायातले उपत्यकाका ९ वटा नगरपालिकाहरूसँगको सहकार्यमा मध्यराति १२ बजेसम्म सञ्चालन हुने गरी २८ वटा विद्युतीय बसमार्फत सेवा सुरु गरेको हो।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी, कीर्तिपुर, गोदावरी, बुढानीलकण्ठ, भक्तपुर, मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकाको संयुक्त पहलमा यो सेवा विस्तार गरिएको हो। यसअघि गएको वैशाख १ गतेदेखि काठमाडौँ महानगर र साझा यातायातको सहकार्यमा दुईवटा रुटमा ७ वटा बसमार्फत परीक्षणका रूपमा रात्रिकालीन सेवा सुरु गरिएको थियो। महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको सिफारिसका आधारमा अहिले सेवा दायरा चार गुणाले बढाइएको हो।

नयाँ व्यवस्थाअनुसार ६ वटा मुख्य रुटहरूमा २८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। जसअनुसार नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा, गोदावरी–बुढानीलकण्ठ रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, कीर्तिपुर–रत्नपार्क रुटमा ४ वटा र चक्रपथ रुटमा ८ वटा बस सञ्चालनमा ल्याइएको छ।

रात्रिकालीन सेवा विस्तारले सर्वसाधारणको यात्रालाई सहज बनाउनुका साथै उपत्यकालाई रातको समयमा पनि चलायमान र सुरक्षित बनाउन मद्दत पुग्ने काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ।