इरानी आक्रमणमा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु

2 hours ago

साउन १५गते✍️ होप अनलाईन मिडिया

 

कुवेतको उत्तरी क्षेत्रमा बिहीबार भएको इरानी क्षेप्यास्त्र आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ। घटनापछि नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायले मृतकको पहिचान र अन्य विवरण संकलनको प्रक्रिया अघि बढाएका छन्।

प्रारम्भिक जानकारीअनुसार मृतक नेपाली नागरिक चिनियाँ कम्पनीसँग आबद्ध एक सहायक ठेकेदार कम्पनीमा चालकका रूपमा कार्यरत थिए। आक्रमणका क्रममा उनी सवार रहेको सवारीसाधनमा क्षति पुगेपछि घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। मृतकको नाम र स्थायी ठेगाना भने अझै सार्वजनिक गरिएको छैन।

परराष्ट्र मन्त्रालयले घटनाको पुष्टि गर्दै कुवेतस्थित नेपाली दूतावासलाई आवश्यक विवरण संकलन गरी तत्काल प्रतिवेदन पठाउन निर्देशन दिएको जनाएको छ। मन्त्रालयले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि समन्वय भइरहेको उल्लेख गरेको छ।

यस घटनाबारे पहिलो जानकारी चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको थियो। समाचारअनुसार आक्रमणका कारण सम्बन्धित कम्पनीका केही भौतिक संरचनामा समेत क्षति पुगेको छ।

कुवेतस्थित चिनियाँ दूतावासले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै हिंसात्मक गतिविधि तत्काल अन्त्य गरी संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

दूतावासका अनुसार आक्रमण प्रत्यक्ष रूपमा चिनियाँ कम्पनीको भवनलाई लक्षित गरिएको नभई चिनियाँ कम्पनीको परियोजनामा संलग्न स्थानीय उपठेकेदार कम्पनीको सवारीसाधनमा परेको थियो। सोही सवारीका चालक रहेका नेपाली नागरिकको ज्यान गएको बताइएको छ।

चिनियाँ पक्षले गैरसैन्य संरचना तथा निर्दोष नागरिकमाथि हुने कुनै पनि प्रकारका आक्रमण अन्तर्राष्ट्रिय मानवीय सिद्धान्तविपरीत हुने भन्दै यस्ता घटनाको कडा विरोध गरेको छ।