कार्तिक १३, २०८३

एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित

7 hours ago

 

कात्तिक ११गते ✍️ होप अनलाईन मिडिया 

 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्रतियोगितामा जितको खाता खोलेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५१ रन बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। त्यस्तै, इशान पाण्डेले ३७ र ब्रान्डन म्याकमुलेनले २२ रनको योगदान दिए।

पोखराका बलरमध्ये धनञ्जय लक्षण, मेहदी हसन र साकिब अल हसनले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। मेहदी हसनले ३२ तथा कप्तान कुशल भुर्तेलले २१ रन जोडे। साकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाए।

सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा तीन विकेट लिँदै पोखराको ब्याटिङ दबाबमा राखे। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले पनि एक–एक विकेट लिए।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराविरुद्धको जितसँगै टोलीले प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको छ।

भोलि एनपीएलमा दुई खेल

एनपीएलअन्तर्गत भोलि दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल साँझ ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच हुनेछ।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्। आयोजकको तालिकाअनुसार तेस्रो संस्करणको प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।