कार्तिक ४, २०८३

काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै कायम भोलि बाट ग्यास २०६० रूपैयाँमा पाइने

1 month ago

 

असोज १ गते ✍️ होप अनलाईन मिडिया 

काठमाडौं उपत्यकामा शुक्रबारदेखि एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन व्यवसायीलाई आग्रह गरेको छ।

केही दिनअघि कृष्णभीर क्षेत्रमा बाढीका कारण सडकमा क्षति पुगेपछि काठमाडौंमा ग्यास आपूर्ति प्रभावित भएको थियो। त्यसपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषालगायत विभिन्न स्थानमा पुगेर ग्यास रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउँदै आएका थिए।

वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी दूरी र खर्च बढेपछि आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको थियो। अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक सञ्चालनमा आएर यातायात सहज बनेसँगै ग्यासका बुलेटहरू काठमाडौं आउन थालेका छन्।

सडक मार्ग सहज भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्न उद्योगीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था हटेको संघले जनाएको छ। यही कारण शुक्रबारदेखि उपत्यकामा ग्यासको बिक्री नेपाल आयल निगमले तोकेको पुरानै मूल्यमा गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको हो।

संघले उपभोक्तालाई पनि तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र ग्यास खरिद गर्दा मूल्यबारे सचेत रहन आग्रह गरेको छ।

#ग्यास बिक्री ⬜️⬜️