कार्तिक ५, २०८३

कृष्ण भिर मा पहिरो खस्दा सडक अवरुद्ध , पहिरो र बाढीका कारण देशका प्रमुख राजमार्ग प्रभावित

4 weeks ago

असोज ९ गते ✍️ होप अनलाईन मिडिया

 

अविरल वर्षाका कारण धादिङको कृष्णभीरमा विशाल ढुंगासहित पहिरो जाँदा पृथ्वी राजमार्ग पूरै अवरुद्ध बनेको छ। सुरक्षालाई ध्यानमा राख्दै रातभर यातायात बन्द गरेर आज बिहान ५ बजेदेखि सडक खुलाउने तयारी गरिए पनि बिहानीपख पुनः पहिरो खसेकाले गाडी चल्न सकेका छैनन्। प्रहरीका अनुसार राजमार्गमा थुप्रिएको पहिरो हटाउने काम भइरहेको छ, तर सडक सुचारु हुन केही समय लाग्नेछ।

यसअघि त्रिशूली नदीको कटानले राजमार्ग भासिएपछि छेउमै डाइभर्सन बनाएर गाडी पठाउने गरिएको थियो। अहिले सोही डाइभर्सन नजिकै पहिरो खसेको हो। यसैगरी, पहिरोकै कारण काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथको यातायात पनि पूर्ण रूपमा ठप्प भएको छ।

यता कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का खण्डमा पर्ने भोटखोला क्षेत्रमा ठूलो पहिरो जाँदा हुङहुङ सडकखण्डसमेत बन्द भएको छ।

लगातारको झरीले ठाउँ-ठाउँमा पहिरोको खतारा बढेपछि देशका विभिन्न राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। दिउँसोको समयमा सडक खुलै रहे पनि बाढी-पहिरोको जोखिम कायमै रहने भएकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले सबैसँग अनुरोध गरेको छ।