असार २८ गते ✍️ होप अनलाईन मिडिया
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलपछि सहमति भएको हो। सहमतिअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र आफ्नो प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाउने व्यवस्था गरिएको छ।
सहमतिमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषय प्रचलित कानुन, विगतका अभ्यास तथा छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
घटनाका दिन ड्युटीमा रहेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कर्मचारीमाथि छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइनेछ। यसका लागि जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई आवश्यक पत्राचार गर्ने सहमति भएको छ।
पीडित परिवारलाई राहत उपलब्ध गराउने, मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार रोजगारीको व्यवस्था गर्ने तथा उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने विषय
सहमतिमा समावेश गरिएको छ।
त्यसैगरी, अन्त्येष्टिका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन, काठमाडौँमा बसोबास तथा मृतकका आफन्तको यातायात र बसाइँ खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ।
सहमतिपत्रमा शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहज रूपमा सम्पन्न गराउने तथा पीडित परिवारका एक सदस्यको उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि समेटिएको छ।
पक्षहरूबीच भएको यस सहमतिले घटनापछि उत्पन्न विवाद समाधान गर्दै पीडित परिवारलाई न्याय दिलाउने, निष्पक्ष छानबिन सुनिश्चित गर्ने तथा कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply