नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा

17 hours ago

 

साउन ११गते ✍️ होप अनलाईन मिडिया

 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग मानिएको यस परियोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री, जापानी प्रतिनिधि तथा जाइकाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो। उद्घाटनपछि सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। केही दिन परीक्षणपछि अन्य योग्य सवारीसाधनका लागि पनि मार्ग खुला गरिनेछ। परीक्षण अवधिमा कुनै शुल्क नलाग्ने जनाइएको छ।

करिब २.७ किलोमिटर लामो सुरुङमार्गमा भविष्यमा सवारीको वर्गअनुसार शुल्क लाग्नेछ। पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे तथा पेट्रोलियम वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने प्रवेश अनुमति दिइने छैन। आधुनिक सुरक्षा प्रणाली, उद्धार सुरुङ, सिसीटिभी, सञ्चार सुविधा र आपतकालीन सेवासहित निर्माण गरिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रको जाम घट्ने, यात्राको समय करिब एक घन्टा बचत हुने र इन्धन खपतसमेत कम हुने अपेक्षा गरिएको छ।