कार्तिक ५, २०८३

लागूऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

3 weeks ago

 

असोज १०गते ✍️ होप अनलाईन मिडिया

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई खैरो हेरोइन तथा चिकित्सकको सिफारिस आवश्यक पर्ने विभिन्न औषधिसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, राक्सीराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुली हरिहरपुर गाउँपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ५ लाख ६० हजार ४ सय रुपैयाँ पनि फेला परेको छ।

प्रहरीले उनीहरूबाट एउटा मोटरसाइकल र ६ थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।