कार्तिक ४, २०८३

लोकप्रिय जङ्गली भाले हात्ती ‘रोनाल्डो’ को विद्युत प्रवाहका कारण मृत्यु

4 weeks ago

 

असोज ४गते ✍️ होप अनलाईन मिडिया

चितवन राष्ट्रिय निकुञ्जको एक परिचित तथा लोकप्रिय जङ्गली भाले हात्ती ‘रोनाल्डो’ को विद्युत प्रवाहका कारण मृत्यु भएको छ।

बिहान बिस हजार ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको प्रवेशद्वार नजिकै उक्त हात्ती मृत अवस्थामा फेला परेको थियो। पोस्टमार्टम प्रतिवेदन अनुसार नेपाली सेनाको पोस्टमा विद्युत सेवा विस्तारका लागि टाँगिएको कालो इन्सुलेटेड तार हात्तीले सुँडले तानेर चपाउने क्रममा करेन्ट लागेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले स्पष्ट पार्नुभएको छ।

पोस्टमार्टम प्रक्रिया सम्पन्न भएसँगै नियमानुसार हात्तीको दाह्रा सुरक्षित निकालेर अन्तिम संस्कार गरिएको छ।

रोनाल्डोको इतिहास र योगदान

करिब ४५ वर्ष उमेर पुगेको रोनाल्डो २४ वर्षअघि पहिलो पटक सौराहा क्षेत्रमा देखिएको थियो। त्यस समय ब्राजिलका प्रख्यात फुटबलर रोनाल्डोको निकै चर्चा रहेकाले स्थानीय जङ्गल गाइडहरूले यसको नाम ‘रोनाल्डो’ राखिदिएका थिए।

खोरसोरस्थित हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि रोनाल्डो भरपर्दो र मूख्य भालेका रूपमा स्थापित थियो। निकुञ्ज प्रशासनका अनुसार सो केन्द्रमा जन्मिएका छावाहरूमध्ये ३८ वटा छावा रोनाल्डोकै हुन्।

विगतमा ध्रुवे र गोविन्देजस्ता अन्य चर्चित भाले हात्तीहरूले आतङ्क मच्चाउने र समय-समयमा ओझेल पर्ने गरे पनि रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र वरपर नै बसेर आफ्नो उपस्थिति जनाउँदै आएको थियो। पर्यटकहरूका माझ पनि निकै प्रिय र आकर्षक मानिने रोनाल्डोको क्षतिले निकुञ्ज क्षेत्रलाई स्तब्ध बनाएको छ।