विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
12 hours ago
जेठ २१गते ✍️ होपअनलाईन मिडिया
सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमार्फत सूचना प्रकाशित गर्दै जेठ १५ गतेदेखि लागू हुने गरी नयाँ भन्सार सुविधा सार्वजनिक गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विदेशबाट फर्किने नेपाली नागरिकले व्यक्तिगत प्रयोगका विभिन्न सामग्रीमा भन्सार छुट पाउने भएका छन् । प्रयोग गरिएका लुगाफाटा, घरायसी पुराना सामग्री, औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री, तोकिएको परिमाणसम्मका सुन–चाँदीका गहना, एक थान ल्यापटप वा ट्याबलेट वा डेस्कटप कम्प्युटर, मोबाइल फोन, क्यामेरा तथा घडीमा पूर्ण भन्सार छुट दिइने व्यवस्था गरिएको छ ।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि थप सहुलियत पनि घोषणा गरेको छ । लगातार कम्तीमा ६ महिना विदेशमा काम गरेर फर्किएका नेपालीले आफूले प्रयोग गरिरहेको मोबाइल बाहेक थप एक थान नयाँ मोबाइल भन्सार छुटमा ल्याउन सक्नेछन् । यस्तै, लगातार १२ महिना वा सोभन्दा बढी समय विदेश बसेर फर्किने नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि भन्सार छुटसहित ल्याउन पाउने व्यवस्था गरिएको छ ।
विदेशमा बसेर फर्किने नेपालीले कार्गो, हुलाक वा अन्य माध्यमबाट पठाएका पुराना घरायसी सामग्रीमा पनि छुट पाउनेछन् । तर, ती सामग्री आफैं उपस्थित भएर भन्सार जाँचपास गराउनुपर्ने प्रावधान राखिएको छ ।
सरकारले महसुल तिरेर ल्याउन पाइने वस्तुको सीमा पनि निर्धारण गरेको छ । टेलिभिजन, फ्रिज, वासिङ मेसिन, म्युजिक सिस्टम, रेडियो, पंखा, घडी तथा मोबाइल एक–एक थानसम्म ल्याउन पाइनेछ । लुगाफाटा, जुत्ता र कस्मेटिक सामग्री पाँच–पाँच थानसम्म तथा मिक्सर, जुसर, राइस कुकर, इस्त्री, सिलाइ मेसिनजस्ता विद्युतीय सामग्री दुई–दुई थानसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, विदेशमा लामो समय बसेर फर्किने नेपालीलाई मूल्यका आधारमा पनि छुट दिइने भएको छ । ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय विदेश बसेकाले १५ हजार रुपैयाँसम्मका वस्तुमा छुट पाउनेछन् भने एक वर्षभन्दा बढी बसेर फर्किनेले २५ हजार रुपैयाँसम्मका सामग्रीमा पूर्ण छुट पाउने व्यवस्था गरिएको छ । १६ वर्षमुनिका यात्रुले भने सो सीमाको आधा मात्र सुविधा पाउनेछन् ।
सरकारले विदेशमा रहेका आफन्तले नेपालमा रहेका परिवारलाई ५०० अमेरिकी डलरसम्म मूल्यका सामग्री पठाउन सक्ने व्यवस्था पनि गरेको छ । त्यस्ता सामग्रीमा लाग्ने भन्सार महसुल तिरेर जाँचपास गर्न सकिनेछ ।
भारतीय सेना वा प्रहरीबाट पेन्सन पाउने गरी अवकाशप्राप्त नेपालीले प्रमाण पेस गरेमा एकपटकका लागि ५० हजार रुपैयाँसम्मका घरायसी सामग्रीमा पूर्ण भन्सार छुट पाउनेछन् । विदेश बसाइका क्रममा मृत्यु भएका नेपालीका परिवारले मृतकका निजी सामग्री स्वदेश ल्याउँदा पनि सम्पूर्ण भन्सार छुट पाउने व्यवस्था गरिएको छ ।
गैरआवासीय नेपाली (एनआरएन) ले आवश्यक प्रमाण पेस गरेपछि नेपाली नागरिकसरहका अधिकांश सुविधा उपयोग गर्न सक्नेछन् । तर, स्थलमार्ग हुँदै भारत वा सीमावर्ती क्षेत्रबाट आवतजावत गर्ने यात्रुलाई भने अधिकांश सुविधा लागू नहुने जनाइएको छ । यद्यपि, ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने व्यवस्था कायम गरिएको छ ।
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना