श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिए कानुनी कारबाही हुने सरकारको चेतावनी
1 month ago
असार १०गते ✍️ होप अनलाईन मिडिया
सरकारले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएमा सम्बन्धित रोजगारदातामाथि कानुनी कारबाही गरिने स्पष्ट गरेको छ।
बुधबार काठमाडौंमा आयोजित व्यवसाय तथा मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्ले ले श्रमिकको हकहित संरक्षण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
उहाँका अनुसार प्रत्येक श्रमिकले न्यूनतम पारिश्रमिक पाउनु कानुनी अधिकार हो। सरकारले तोकेको दरभन्दा कम ज्याला दिएर काममा लगाउने कार्य श्रम कानूनविपरीत हुने भएकाले त्यस्ता गतिविधिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
सचिव काफ्लेले श्रमिकको आर्थिक तथा सामाजिक सुरक्षालाई मजबुत बनाउन सरकार विभिन्न कार्यक्रम र नीतिमार्फत सक्रिय रहेको जानकारी दिनुभयो। श्रमिकले काम गरिरहँदा मात्र होइन, वृद्धावस्था वा शारीरिक तथा मानसिक रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेपछि पनि सम्मानजनक जीवनयापन गर्न सक्ने व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ श्रम मापदण्ड निर्माण र कार्यान्वयनमा सरकार लागिरहेको उल्लेख गर्नुभयो। यसले श्रमिकको अधिकार संरक्षणसँगै मानव अधिकारको सुनिश्चिततामा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकको अधिकार र सुरक्षाका विषयमा पनि सरकार संवेदनशील रहेको बताउनुभयो। विदेशमा कार्यरत नेपाली श्रमिकमाथि हुने सम्भावित शोषण तथा मानव अधिकार उल्लंघन रोक्न आवश्यक पहल र निगरानीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो।
सरकारले श्रमिकको सम्मान, सुरक्षा र सामाजिक संरक्षणलाई केन्द्रमा राखेर श्रम क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ विभिन्न नीतिगत सुधारका कार्य अघि बढाइरहेको जनाएको छ।
निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको आज संसदीय सुनुवाइ
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा
सर्वाधिक इन्धन कारोबार गर्ने पेट्रोलपम्प सार्वजनिक, भैरवी इन्टरप्राइजेज लगातार तेस्रो वर्ष शीर्ष स्थानमा
अर्जेन्टिनालाई पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप विजेता
कुलेश्वरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, एकको अवस्था चिन्ताजनक
असार २९गते सोम वार को राशिफल