कार्तिक ४, २०८३

सिन्धुली मा खोला ले बगाउदा एक महिलाको ज्यान गयो

4 weeks ago

 

असोज ६गते ✍️ होप अनलाईन मिडिया

सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ स्थित रामपुर खोला तर्ने क्रममा बगेर ६५ वर्षीया एक वृद्धाको ज्यान गएको छ।

प्रहरीका अनुसार स्थानीय लालबहादुर दोङकी श्रीमती चिउरी माया दोङ सोमवार साँझ करिब ६ बजे रामपुर बजारबाट घर फर्कँदै गर्दा दुर्घटनामा परेकी हुन्। खोलाले बगाएको खबर राति ९ बजे रामपुर प्रहरी चौकीमा पुगेपछि तत्काल प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

प्रहरी र स्थानीयवासीको संयुक्त खोजीका क्रममा घटनास्थलभन्दा करिब एक किलोमिटर तल राति ९:४५ बजे उनको शव फेला परेको थियो। आफन्तको उपस्थितिमा शव पानीबाट निकालेर सुरक्षित राखिएको छ भने घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप कानुनी प्रक्रिया र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको छ। यसैक्रममा असोज ६ गते बिहान प्रहरी निरीक्षक भरत चन्दको कमाण्डमा ४ जनाको टोली घटनास्थलको मुचुल्का तयार पार्न परिचालन भइसकेको प्रहरीले जनाएको छ।